कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि हुने
काठमाडौं । कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने जनाइएको हो ।
यसअघि बैशाख २६ गतेदेखि सञ्चालन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचनका कारण परीक्षा स्थगित भएको थियो । ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कुटुवालले परीक्षा अवधिमा सार्वजनिक बिदाका दिनबाहेक अन्य दिन दैनिक तीन सिफ्टमा ६ सय जनाको दरले परीक्षा संचालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
कोरियन भाषा परीक्षामा उत्तीर्णहरूमध्ये ६ हजार ९ सय ९३ उत्पादनमूलक क्षेत्रमा र २ हजार ७ सय ४१ गरी ९ हजार ७ सय ३४ नेपालीहरूलाई यसै वर्ष दक्षिण कोरिया पठाउने गरी परीक्षा लिन लागिएको हो । वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरियामा जानका लागि ४३ हजार भन्दा बढीले आवेदन दिएको विभागले जनाएको छ ।
