एनसीबीको साधारणसभा: एकता र आपसी सहयोग सुदृढ बनाउनेमा जोड
दक्षिण कोरिया । कोरियाको बुसानस्थित नेपाली समुदायहरुको संस्था एनसीबीले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बुसानस्थित डोङ्गयू विश्वविद्यालयमा आज पहिलो वार्षिक साधारणसभा २०२५ सम्पन्न भएको हो । एनसीबी बुसानको सबैभन्दा ठूलो नेपालीहरुको साझा संस्था हो ।
कार्यक्रममा संस्थाले वर्षभरी गरेका गतिविधिको समीक्षा गरिनुको साथै आगामी दिनका लागि बुसानस्थित नेपाली समुदायबीच एकता र आपसी सहयोग सुदृढ बनाउने सन्दर्भमा छलफल गरिएको छ ।
एनसीबीका अध्यक्ष अशोक आचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो । उनले कार्यक्रममा संस्थाको गतिविधि र महत्वमाथि प्रकाश पार्दै आजको सभा एनसीबीका लागि नयाँ अध्यायको सुरुवात भएको बताए । उनले बुसानस्थित नेपाली समुदायको निरन्तर विकास र संस्थागत प्रभावलाई अझ मजबुत बनाउने बताए ।
उपाध्यक्ष दिनेश थापाले आगामी वर्षका लागि एनसीबीको कार्ययोजना प्रस्तुत गर्दै बुसानमा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई निरन्तर सहयोग गर्ने र नेपाली समुदायबीच आपसी एकता तथा सहकार्यलाई अझ बलियो बनाउने लक्ष्य रहेको उल्लेख गरे । उनले व्यावहारिक सहयोग र सामूहिक सहभागितामार्फत् समुदायलाई जोड्ने संस्थाको मुख्य उद्देश्यलाई प्रष्ट पारे ।
सभाले ४० भन्दा बढी नयाँ सहयोगी सदस्य नियुक्त गरेको छ । जसले एनसीबीको विस्तार हुँदै गएको सञ्जाल र बढ्दो सक्रिय सहभागिता झल्काएको उपाध्यक्ष थापाले बताए । उक्त पहल नव–नियुक्त सहयोगी समितिका अध्यक्ष दीपेश शाहीको नेतृत्वमा सम्पन्न गरिएको हो ।
कार्यक्रममा १५ जना कार्यकारिणी सदस्य र ३० जना सहयोगी सदस्यको उपस्थिति थियो । साथै एनसीबीले कार्यक्रममा सहभागी सम्पूर्ण सदस्य तथा अतिथिप्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि प्रभावकारी सामुदायिक गतिविधिहरु निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
