बागमती प्रदेशसभा बैठक आज बस्दै

तु खबर संवाददाता
२०७९ जेष्ठ १३, शुक्रबार ०८:०८

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठक आज बस्न लागेको हो । बिहान ११ बजेदेखि सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । आज दुई वटा बैठक बस्ने भएको प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार, पहिलो बैठकमा प्रमुख प्रतिपक्ष तथा विभिन्न दलका नेताहरुले शुभकामना सन्देश व्यक्त गर्नुका साथै विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ । प्रदेशसभामा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेश गर्ने भएका छन् ।

त्यसैगरी, युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गर्ने भएका छन् । प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ पनि संसदमा पेश हुने भएको छ । यी अध्यादेशहरु संसद संचालन नभएको समयमा प्रदेश सरकारले ल्याएको थियो ।

यस्तै, आजै बस्ने दोस्रो बैठकमा प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।  यसअघि चैत्र ८ गते बसेर ९ गते स्थगित भएको प्रदेशसभाको बैठक ६५ दिन पश्चात आज बस्न लागेको हो ।