हेटौंडा १७ मा प्रसुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

तु खबर संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १८:३४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका १७ का महिलाहरूले सुरक्षित प्रसुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । मङ्गलबार बसेको पहिलो वडा कार्यसमितिको बैठकले वडाभित्रका गर्भवती महिलाहरू सुरक्षित रुपमा प्रसुती गराउनका लागि उपमहानगरका जुनसुकै अस्पतालसम्म जानका लागि लाग्ने एम्बुलेन्स शुल्क वडा कार्यालयले व्यहोर्ने निर्णय गरेको १७ नम्बर वडा अध्यक्ष उद्धव सत्यालले जानकारी दिए ।

बैठकले वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका लागि निःशुल्क हेल्प डेस्क संचालन गर्ने समेत निर्णय गरेको छ । हेल्प डेस्कले वडामा सेवा लिन आउने सर्वसाधारणलाई छिटोछरितो सेवा प्रवाहका लागि सहयोग गर्ने वडा सदस्य नवराज न्यौपानेको भनाई छ ।