हेटौंडामा ४ वटा मतगणना स्थल थप्ने तयारी
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ४ वटा मतगणना स्थल थप्ने तयारी गरिएको छ । मत गणना कार्य ढिलाई भएका कारण छिटो भन्दा छिटो मत परिणाम सार्वजनिक गर्ने उद्देश्यले ४ वटा मतगणना स्थल थप्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, हेटौंडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा थप ४ वटा मतगणना स्थल थप्ने भएको हो । त्यसको लागि तार जाली हाल्ने कार्य भइरहेको छ । यससँगै हेटौंडामा मतगणना स्थल ८ वटा हुनेछ । यसअघि ४ वटा मतदान स्थल रहेको थियो । थप चार मतगणना स्थलमा पनि आज रातिदेखि मत गन्न सुरु गर्ने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए ।
स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । हाल हेटौंडा २, १८ र १९ को मत गणना भइरहेको छ । हेटौंडा–१ को भने मत गणना सम्पन्न भइसकेको छ । आइतबार सम्पन्न मत परिणाम अनुसार, वडा नम्वर १ को वडाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका सविन न्यौपाने निर्वाचत भएका छन् ।
न्यौपाने १ हजार ४ सय ४२ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै, वडाध्यक्षका उम्मेदवार नेकपा एमालेका उत्तम पौडेलले १ हजार ३११ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुजन शाहीले २०७ मत प्राप्त गरेका छन् । हेटौंडा–१ मा कूल ३ हजार २ सय ८६ मत खसेको थियो ।
