प्रावि तह शिक्षकको नतिजा सार्वजनिक

तु खबर संवाददाता
२०७९ बैशाख २९, बिहीबार १५:४८

काठमाडौं । शिक्षक सेवा आयोगले सञ्चालन गरेको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको सामान्य तर्फको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार, परीक्षामा १ लाख २ हजार ५५८ सहभागीमध्ये १९ हजार ३८५ जना पास भएका छन् ।

आयोगले गत चैत्र १९ मा १३ हजार २९७ रिक्त पदका लागि परीक्षा सञ्चालन गरेको थियो । नतिजा अनुसार, परीक्षामा उत्तीर्ण हुनेहरुमा प्रदेश १ का ४ हजार २४७ जना, मधेश प्रदेशका ९५२ जना, बागमती प्रदेशका ३ हजार ७८९ जना, गण्डकी प्रदेशका ३ हजार ६०६ जना, लुम्बिनी प्रदेशका ३ हजार ४६८ जना, कर्णाली प्रदेशका १ हजार १९१ जना र सुदूरपश्चिम प्रदेशका २ हजार १३२ जना रहेका छन् ।

नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले आगामी जेठ ६ गतेसम्म २५० रुपैयाँ शुल्क बुझाएर आवेदन दिन सक्ने आयोगले जनाएको छ ।