मकवानपुरमा २ जनाको शव फेला

तु खबर संवाददाता
२०७९ बैशाख २८, बुधबार १५:४९
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा दुई जनाको शव फेला परेको छ । मनहरी–७ स्थित मनहरी बजारमा एक पुरुष र वडा नम्वर–९ रजैयामा अर्की एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, मनहरी–७ मनहरी बजारमा फेला परेको शव स्थानीय ५७ वर्षीय राजुप्रसाद रौनियारको रहेको छ भने मनहरी–९ मा फेला परेको शव स्थानीय ४२ वर्षीया अनिता गोपालीको रहेको छ । दुबै जनाको शव मृतकको घरमा नै फेला परेको हो । गएराति आफ्नै घरको छतमा सुतेका रौनियारको शव आज बिहान फेला परेको प्रहरीको भनाई छ । उनको घरको छतबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

रौनियार आफ्नो तीन तलाको घरको छतमा सुत्ने गरेको र आज बिहान परिवारले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस्तै, मनहरी–९ रजैयाकी गोपालीको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार मृतक गौपाली आफ्नै घरमा एक्लै बस्दै आएकी थिइन् । बिहान स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । दुबै घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।