झाडापखालाबाट बालकको मृत्यु, चार जना बिरामी

तु खबर संवाददाता
२०७९ बैशाख २८, बुधबार ०८:५२

दाङ । तुलसीपुरमा झाडापखालाबाट एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे २ वर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिए । अनमोललाई उपचारका लागि मङ्गलबार अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

त्यसैगरी, बिरामी हुनेहरुमा ५० वर्षीय बुद्धिराम पुन, ४० वर्षीया गौरी पुन, ५८ वर्षीया कलसिङ पुन र मीना पुन रहेका छन् । उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जनाइएको छ । बिरामीमध्ये बुद्धिरामको अवस्था गम्भीर रहेको छ । बिरामीमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखापरेको अस्पतालले जनाएको छ ।