आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै

तु खबर संवाददाता
२०७९ बैशाख २८, बुधबार ०८:२९

काठमाडौं । नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम रहेको छ । वालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको छ । यो अधिकारको प्रयोग गर्न यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोगले अपिल गरेको छ ।