राति १२ बजेबाट मौन अवधि सुरु, के गर्न पाइँदैन ?

तु खबर संवाददाता
२०७९ बैशाख २७, मंगलवार १८:१४

मकवानपुर । आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । मतदान अगाडिको ३८ घण्टाको समयलाई मौन अवधि भन्ने गरिन्छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार यो अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन ।

आयोगले यो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिहरुको निगरानी राख्ने र मतदातालाई प्रभावमा पार्ने कुनैपनि गतिविधि भएको पाइएमा तत्काल नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ ।

मौन अवधिभर निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने आयोगले जनाएको छ । मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री पनि हटाउनुपर्ने जनाइएको छ ।

यो अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार–प्रसार गर्न नपाइने निर्वाचन आचारसंहिता, २०७८ मा उल्लेख छ । त्यसैगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा सेयर गर्न÷गराउन नपाइने आयोगले स्पष्ट उल्लेख गरेको छ ।

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ अनुसार आजै राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । निर्वाचन सुरक्षालाई ध्यान दिँदै आजै राति १२ बजेदेखि देशका सीमानाका बन्द गरिए पनि अन्तर्राष्ट्रिय उडान भने रोकिएको छैन । आउँदो शुक्रबार देशभर एकै चरणमा बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुँदैछ । निर्वाचनको दिन आन्तरिक उडान र अत्यावश्यकबाहेक अन्य सवारी साधन संचालनमा रोक लगाएको छ ।