हेटौंडा– १४ मा मतदाता शिक्षा दिँदै नेकपा एमाले
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को टोलटोलमा नेकपा एमालेले मतदाताहरुलाई मतदान शिक्षा प्रदान गरेको छ । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले घरदैलो कार्यक्रम सम्पन्न गरी शुक्रबारबाट मतदाता शिक्षालाई प्राथमिकता दिएको हो ।
निर्वाचनमा बदर मत कम गर्नका लागि १४ नम्वर वडामा एमालेका नेता तथा कार्यकर्ताहरु प्रशिक्षक बनेर मत हाल्ने तरिकाका सम्बन्धमा स्थानीयलाई नमुना मतपत्रमा भोट हाल्ने तरिका सिकाइरहेको वडाध्यक्षका उम्मेदवार दिपक खड्काले जानकारी दिए ।
उनका अनुसार, मतदाता शिक्षाका लागि प्रत्येक टोलटोलमा स्वयंसेवक खटाइएको छ । ‘सबैले मत हाल्न जानेका हुन्छन् भन्ने हुँदैन, त्यसैले वडा नम्वर १४ मा नमुना मतपत्रमा भोट हाल्न सिकाइरहेका छौं ।’ उनले भने, ‘निर्वाचनमा मत माग्नुका साथै मतदाताहरुलाई मताधिकार सही रुपमा प्रयोग गर्न सिकाउनु पनि हाम्रो दायित्व हो ।’
