जीतपुर सिमरामा गठबन्धनका उम्मेदवार बलियो, परिणाम पक्षमा पार्न एमाले सक्रिय

तु खबर संवाददाता
२०७९ बैशाख २३, शुक्रबार १७:४०

बारा । जीतपुर सिमरा उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुख (मेयर) मा माओवादीका राजन पौडेल उम्मेदवार छन् भने उपप्रमुख (उपमेयर) मा नेपाली कांग्रेसका तर्फबाट मेघा शाही उम्मेवार रहेकी छिन् । पौडेल र शाहीलाई माओवादी र कांग्रेससमेत अन्य तीन दलको समर्थन छ । अहिले परिणाम आफ्नो पक्षमा पार्न त्यहाँ नेकपा एमालेका उम्मेदवार रातोदिन नभनी सक्रिय छन् ।

नेकपा एमालेबाट यसअघिका उपमेयरसमेत रहकी सरस्वति चौधरी चुनावी मैदानमा छिन् । उपमहानगरपालिकामा यसअघि मेयर र उपमेयर दुबै जना नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए । उनीहरुको कार्यकालमा उपमहानगरपालिका भ्रष्टाचारमा डुबेका रिपोर्टहरु सार्वजनिक भएपछि अहिले एमालेलाई त्यहाँ सङ्कट पर्दै गइरहेको गठबन्धनका नेताहरुको दावी छ । गठबन्धनका तर्फबाट पौडेल र शाही युवा भएको, स्पष्ट भिजन भएको र त्यसको कार्यान्वयनमा पनि सबल रहेकोले गठबन्धनविरुद्ध अरुले जीत निकाल्न नसक्ने माओवादीका जीतपुर सिमरा उपमहानरपालिका अध्यक्ष प्रेम बरालको भनाई छ ।

बरालका अनुसार, यसअघि एमालेका तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखहरुले उपमहानगरपालिकालाई खोक्रो बनाएको, भ्रष्टाचारजन्य कसूर गरेको त्यसविरुद्ध अख्तियारमा दर्जनौ उजुरीहरु परेका आदि कारण एमालेप्रति अरुको आक्रोश पनि छ । उपमहानगरको नेतृत्वमा हुँदा समानुपातिक रुपमा काम नगरेको, विचारका आधारमा काखापाखा पारेको, भ्रष्टाचार गरी उपमहानगरपालिकालाई पंगु बनाएका कारण एमालेका विरुद्ध जनस्तरमै माहौल रहेको माओवादी नेता हरि चौलागाईं लालकिरणले बताए ।

माओवादी कांग्रेससहित ५ दलीय गठबन्धनबाट साझा उम्मेदवार रहेका पौडेल र शाहीले उपमहानगरपालिकाको विकासको विस्तृत रुपरेखा समेत सार्वजनिक गरिसकेका छन् । प्रतिवद्धतापत्र नाम दिइएको सो रुपरेखा अनुसार आगामी पाँच वर्ष उपमहानगरको विकासमा क्रियाशील हुने मेयरका उम्मेदवार पौडेलले तु खबरलाई बताए । गठबन्धनको भावना र नगरको समु्चित विकासका लागि हामी सक्रिय रहन्छौँ, पौडेलले भने ।
यसै सन्दर्भमा हामीले मेयरका उम्मेदवार पौडेलसित कुराकानी गरेका छौँ । प्रस्तुत छ, कुराकानीको छोटो अंश ः

५ वर्षमा सर्वोत्कृष्ट उपमहानगरपालिका बनाउँछौँ

 

राजन पौडेल, मेयरका उम्मेदवार ५ दलीय गठबन्धन

 

यसअघि भएको स्थानीय तहको निर्वाचनमा पनि म मेयर पदको उम्मेवार थिएँ । त्यतिबेला हाम्रो पाटीका अधिकांश वडा अध्यक्ष विजयी भइरहँदा मेयरमा हार व्यहोर्नु प¥यो । त्यसको अरु कु्नै कारण थिएन, निर्वाचन आचारसंहिता विपरितका क्रियाकलाप नियन्त्रण हुन सकेन । नेकपा एमालेका तर्फबाट मेयर र उपमेयर भएकाहरुले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै ठूलो चलखेल गरे । त्यसबारे हामीले स्थानीय निर्वाचन अधिकृतहरुलाई जानकारी पनि गरायौँ तर त्यसबारे केही बोलिएन र एक हिसाबले भन्दा उनीहरुलाई मनमौजी गर्न छुट दिइयो । जीतपुर सिमराका सोझासाझा जनतालाई विभिन्न प्रलोभनमा पारेर त्यतिबेला गुमराहमा राख्ने काम भयो । त्यस यता यो पाँच वर्षसम्म जनताले कसको नियत के रहेछ स्पष्ट थाहा पाइसकेका छन् । गलत मानिसले नेतृत्व प्राप्त गर्दा हाम्रो प्रसस्त संभावना भएको जीतपुर सिमरा दशकौँ वर्ष पछाडी धकेलियो । तर अब त्यस्तो अवस्था रहँदैन । गठबन्धनबाट प्रमुख र उपप्रमुखको साझा उम्मेदवारको रुपमा हामीले हाम्रो जारी प्रतिवद्धताका आधारमा योजना बनाएर काम गर्छौ ।

यसअघि उपमहानगरपालिकाको नेतृत्वमा रहेकाहरुले आफै सार्वजनिक गरेका घोषणा अनुसार काम गर्नुभएन । नगरसभाका सदस्यहरुको कुनै भूमिका देखिएन । सुशासन कायम हुन सकेन र उपमहानगरपालिका भ्रष्टाचारको अखाडामा परिणत भयो । म यो सबै कुरा कसैमाथि व्यक्तिगत लान्छना लगाउनको निम्ति भनिरहेको छैन, यो यहाँको वास्तविकता हो र प्रमाणित विषय पनि हो त्यसैले मैले मेरा मतदाता र जीतपुर सिमराका नागरिकलाई स्पष्ट पार्न चाहेको मात्र हो । जनतालाई केन्द्र विन्दुमा राखेर काम भएन । लहडको भरमा सरकार चलाइयो । सारमा भन्दा संविधानले परिकल्पना गरेको स्थानीय सरकारको जग कमजोर बन्यो र नागरिकको पनि यसमाथिबाट विश्वासहरु गुम्दै गयो ।
उपमहानगरपालिका स्थानीय सरकार हो । सरकार जसरी चल्नु पर्दछ हामी त्यसरी नै चलाउने छौँ । सरकारका नागरिकहरुप्रति दायित्व हुन्छ त्यो दायित्व पूरा गर्न हामी चुक्ने छैनौँ । नागरिक अधिकार पूराका पूरा प्रत्याभूत हुनेछन् भने नागरिकका कतव्र्यलाई पनि हामी स्मरण गराउने छौँ ।

किसानको गोठ र खेतमा हामी पुग्छौ । मजदुरका तमाम समस्या हाम्रो चिन्ताको विषय हुनेछ, समाधान हाम्रो जिम्मेवारी हुनेछ । उद्योगको सुरक्षालाई पनि हामी यथेष्ठ ध्यान दिनेछौँ । यहाँका तमाम समस्याको मसिनो गरी हामीले टिपोट बनाएर राखेका छौँ । त्यसको समाधान पनि गर्छौ । हाम्रो तहबाट समाधान नहुने विषयका लागि जहाँ जानू पर्ने हो त्यहाँ जान्छौँ । प्रत्येक वर्ष हामी तपाइहरुसित अन्तरक्रिया गर्ने छौँ । प्रत्येक समस्यालाई सुन्ने छौँ र त्यसको समाधानमा लाग्ने
छौँ । नगरपालिकामा गुनासा टिपोट र सम्बोधनको मेकानिज््म बनाउने छौँ । जताततै समस्याहरु छन्, त्यसैले गर्नुपर्ने कामहरु धेरै छन् । हामी रात दिन नभनी तपाइहरुको सेवामा समर्पित रहने छौँ, यो हाम्रो संयुक्त बाचा हो ।

हाम्रो योजनाका कारण हामीले यसपटक निर्वाचन जित्दैछौँ । त्यसमाथि हाम्रो पाँच दलीय गठबन्धन पनि छ । यसअघि उपमहानगरपालिकामा नेतृत्वमा रहेकाहरुले जे जे बदमासी गरे, जून दुर्गतीमा उपमहानगरलाई पुर्याए त्यही र त्यस्तै गल्ती कमजोरी गर्ने छुट हामीलाई छैन । हामी सबै काम सर्वोत्कृष्ट बनाउन आएका हौँ । यसअघि निर्वाचनमा पराजय भएपछि आजसम्म पनि म तपाइहरुकै बीचमा छु र निरन्तर जीतपुर सिमरावासीको सुखदुखमा छु । हामीलाई विश्वास छ कि जीत हाम्रो हुनेछ । हाम्रो जीत सबै जीतपुर सिमरावासीको हुनेछ ।