गठबन्धनको जीत सुनिश्चित छ : नेता बानियाँ

तु खबर संवाददाता
२०७९ बैशाख १९, सोमबार १७:२८

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दावी गरेका छन् । सोमबार हेटौंडा–९ का युवाहरुलाई पार्टी प्रवेश गराउँदै नेता बानियाँले गठबन्धनको जीत सुनिश्चित भएपनि मतान्तर बढाउन जरुरी रहेको औंल्याए ।

उनले भने, ‘गठबन्धनले अब मतान्तर बढाउने तर्फ ध्यान दिनुपर्छ । हेटौंडाको समग्र विकास गर्न हामीले जित्न जरुरी छ ।’ नेता बानियाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको घमण्ड र उदण्डताबाट मुलुकलाई जोगाउन जरुरी रहेको औंल्याए । ‘झुट र आश्वासनको पुलिन्दाबाट देशलाई जोगाउन र संविधानको रक्षा गर्न हामीले गठबन्धन गरेका हौं । जनताले यस विषय बुझेका छन् ।’, उनले भने ।

कार्यक्रममा २० जना युवा राप्रपा पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । हेटौंडा उपमहानगरपालिका उपमेयर उम्मेदवार राजेश बानियाँ, कांग्रेस हेटौंडा–५ सभापति यमबहादुर श्रेष्ठ र ९ नम्बर सभापति वीरेन्द्रकुमार लामालगायतको सहभागी रहेको थियो ।