मकवानपुरमा पाँच वडा सदस्य निर्विरोध

तु खबर संवाददाता
२०७९ बैशाख १५, बिहीबार १०:२१
file-photo

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत मकवानपुरमा पाँच जना वडा सदस्य निर्विरोध भएका छन् । निर्विरोध निर्वाचित हुनेमा नेकपा एमालेबाट चार र नेकपा माओवादी केन्द्रबाट एक जना रहेका छन् । जिल्लाको इन्द्रसरोबर गाउँपालिका दुई, थाहा नगरपालिका, बागमती गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा एक/एक जना गरी ५ जना दलित महिला वडासदस्य निर्विरोध भएका हुन् ।

इन्द्रसरोबर गाउँपालिका वडा नं. १ मा दलित महिलातर्फ एमालेबाट लक्ष्मी दमाई र वडा नं. ४ मा सावित्री सुनार, थाहा नगरपालिका वडा नं.५ मा दलित महिलातर्फ एमालेबाट उर्मिला कामी, बागमती गाउँपालिका नं. ३ मा दलित महिलातर्फ माओवादी केन्द्रबाट बिष्णु मायाँ बि.क., मकवानपुरगढी गाउँपालिकाको वडा नं. ७ मा दलित महिलातर्फ एमालेबाट तिर्थ कुमारी ल्वाहगुन निर्विरोध भएका हुन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत आइतबार र सोमबार भएको मनोनयन दर्ताका क्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, जसपा नेपाल, मङ्गोल अर्गनाइजेशन लगायतका दल एवं स्वतन्त्र उम्मेदवारसमेत रहेका छन् ।जिल्लामा प्रमुख, उप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्य पदका लागि कूल २ हजार ३५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।