थाहाको मेयरमा ६ र उपमेयरमा २ जनाको उम्मेदवारी दर्ता
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि थाहानगरपालिकाको मेयर पदमा ६ जनाको उम्मेदवारी परेको छ । विभिन्न राजनीतिक दलको तर्फबाट ६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय थाहानगरपालिकाले जनाएको छ ।
मेयर पदको लागि सत्तारुढ गठबन्धनबाट नेकपा माओवादीका विष्णुबहादुर विष्ट, नेकपा एमालेबाट अचुत्तमप्रसाद ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बसुन्धरा पुडासैनी, कांग्रेस (वीपी) बाट बिरबहादुर भोम्जन, राष्ट्रिय जनमोर्चाबाट शुभराज गोले र मंगोल जनजाति पार्टीबाट राजकुमार गोलेले उम्मेदवारी दिएका छन् ।
यसैगरी, उपमेयर पदको लागि २ जनाले उम्मेदवारी दिएका छन् । उपमेयर पदको लागि गठबन्धको तर्फबाट नेपाली कांग्रेसका भरत गोली र नेकपा एमालेबाट कल्पना बलामीले उम्मेदवारी दिएको निर्वाचन अधिकृत तीर्थराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार, थाहानगरपालिकाको विभिन्न वडामा २ सय ४६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडामा अध्यक्ष पदको लागि ५९ जना, महिला सदस्यमा ४६ जना, दलित सदस्यमा ३८ जना र सदस्य पदका लागि १ सय ३ जनाले उम्मेदवारी उम्मेदवारी दिएका छन् ।
