स्थानीय निर्वाचन : आजबाट उम्मेदवारको मनोनयन दर्ता सुरु
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि आजबाट उम्मेदवारीको मनोनयन दर्ता सुरु हुने भएको छ । निर्वाचन आयोगले बैशाख ११ र १२ गतेका लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो ।
आयोगले आज र भोलि दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गर्न समय तोकेको हो । आयोगका अनुसार, बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहनेछ ।
विगतको स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम १ दिन रहेको र १ दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको, केही स्थानीय तहको उम्मेदवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नु परेकोले आयोगको भनाइ छ ।
