आगलागीमा परेर चार बालबालिकाको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख १०, शनिबार ०८:४८

जुम्ला । जुम्लाको तिला गाउँपालिकाका वडा नम्वर ३ कुडारी सार्की वडामा गएराति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीमा परेर स्थानीय मानसिंह सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र ३ वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

उनका अनुसार, आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति पुगेको छ । आगलागीका कारण बेहोस भएका मानसिंह र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।

मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक चन्द्रले जानकारी दिए । घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।