सत्ता गठबन्धन बैठक : महानगर र उपमहानगरका मेयर र उपमेयरमा सहमति

तु खबर संवाददाता
२०७९ बैशाख ७, बुधबार १७:३५
file-photo

काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमति जुटाएका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धबीच महानगर र उपमहानगरको मेयर र उपमेयरमा लिखित सहमति भएको हो ।

जस अनुसार, कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद, नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर, नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर र जनता समाजवादी पार्टीले वीरगञ्जको मेयर र विराटनगरको उपमेयर पाउनेछ ।

यस्तै, उपमहानगरपालिकातर्फ कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको मेयर पद लिनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर लिनेछ । यसैगरी, माओवादीले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर पद, नेकपा एकीकृतले हेटौंडा उपमहानगरपालिकाको मेयर पद र जसपाले जनकपुर उपमहानगरपालिकाको मेयर र कलैया र नेपालगञ्जको उपमेयर लिनेछ ।