हेटौंडाको गुम्बाडाँडामा बुद्धमुर्ति अनावरण

तु खबर संवाददाता
२०७९ बैशाख ४, आईतवार ०९:४१

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ स्थित गुम्बाडाँडामा २५ फिट अग्लो ढुङ्गाको बुद्ध मुर्ति अनावरण गरिएको छ । बौद्ध धर्मगुरु लोमसाङ नाङ्गेलले शनिबार एक समारोहकाबीच मुर्ति अनावरण गरेका हुन् ।

रु १ करोड ४४ लाखको लागतमा बोधी चैत्य बौद्ध स्तुपा मुर्ति निर्माण गरी अनावरण गरिएको हो । समाजसेवी दुर्गामान शाक्य, सुभाषराज शाक्य र कमलचन्द्र सुमनको सक्रियतामा गुम्बाडाँडामा मुर्ति निर्माण गरिएको हो ।

मुर्ति अनावरण कार्यक्रम सम्पूर्ण कुमार लामाको अध्यक्षतामा भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ का वडाध्यक्ष अनिल बानियाँले धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको उक्त मुर्तिको निर्माणले धर्म संस्कृतिको जगेर्णा हुनुको साथै पर्यटन विकासमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस्तै, मकवानपुरका समाजसेवी एवम् मुर्ति निर्माण व्यवस्थापन समितीका उपाध्यक्ष ज्योतिरत्न बज्राचार्यले सो क्षेत्रको पर्यटन विकासमा सबैले हातेमालो गर्नुपर्ने धारणा व्यक्त गरे ।