स्थानीय निर्वाचन : उम्मेदवारी दिन चाहनेलाई लिखित प्रतिबद्धता पेश गर्न माओवादी बागमतीको निर्देशन
काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन चाहने नेता तथा कार्यकर्तालाई लिखित प्रतिबद्धता पेश गर्न निर्देशन दिएको छ । सो पार्टीका बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीले आन्तरिक सर्कुलर जारी गर्दै निर्वाचनमा उम्मेदवार हुन चाहने नेता तथा कायकर्ताहरुलाई यही बैशाख ७ गतेभित्र लिखित प्रतिबद्धता पेश गर्न निर्देशन दिएका हुन् ।
जारी सर्कुलरमा पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष वा वडा अध्यक्षमा उम्मेदवारी दिन चाहनेहरुलाई लिखित प्रतिबद्धतासहित आफ्ना योजनाहरु बागमती प्रदेश कार्यालयको ठेगानामा पठाउन भनिएको छ ।
सर्कुलरमा अघिल्लो स्थानीय तहको निर्वाचनमा निर्वाचित प्रतिनिधि र आसन्न निर्वाचनमा नयाँ उम्मेदवार हुन चाहनेहरुका लागि फरक–फरक प्रश्नहरु सोधिएका छन् । अघिल्लो निर्वाचनमा निर्वाचित प्रतिनिधिहरुले आफुले गरेका उपलब्धिदेखि बाँकी रहेका अधुरा योजनाहरु समेत उल्लेख गर्न भनिएको छ भने नयाँ उम्मेदवार हुन चाहनेका लागि स्पष्ट कारण उल्लेख गर्न भनिएको छ ।

