महिला उद्यमी व्यवसायी संघद्वारा ज्येष्ठ महिलालाई सम्मान

तु खबर संवाददाता
२०७८ चैत्र ३०, बुधबार १७:४२

मकवानपुर । महिला उद्यमी व्यवसायी संघ मकवानपुरले ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । संघले आफ्नो नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा संघकी सल्लाहकार इन्दिरा गुरुङलाई सम्मान गरेको हो ।

यस्तै, संघले भूटनदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठ, संघकी निवर्तमान कोषाध्यक्ष रमा श्रेष्ठ, २०५५ सालदेखि निरन्तर रुपमा व्यवसाय सञ्चालन गर्दै आएकी रञ्जना श्रेष्ठ र २०६९ सालबाट व्यवसाय सञ्चालन गरिँदै आएकी मनु लामालाई उत्कृष्ट उद्यमीको रुपमा सम्मान गरेको छ । कार्यक्रम संघ मकवानपुरकी अध्यक्ष सुशीला पाण्डेको सभाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको पूर्व केन्द्रीय सदस्य शर्मिला डंगोलको प्रमुख आतिथ्यमा भएको हो ।