एमालेबाट हेटौंडाको मेयरमा ३ जनाको नाम सिफारिस, कसले पाउला टिकट ?

तु खबर संवाददाता
२०७८ चैत्र २९, मंगलवार १७:१३

मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगर कमिटी बैठकले हेटौंडाको मेयरमा बहालवाला मेयर हरिबहादुर महतसहित ३ जनालाई सिफारिस गरेको छ । बैठकले मेयर पदमा महतसहित संविधानसभा सदस्य अनन्त पौडेल र नेतृ गणेश कुमारी प्रधानको नाम सिफारिस गरेको हो । एमालेको चैत २७ गते बसेको बैठकमा मेयर पदमा ९ जना नेताहरुले उमेदवारी दावी गरेको भएपनि सहमतिका आधारमा आज तीन जनाको नाम सिफारिस गरिएको हो ।

मंगलबार भएको बैठकमा सर्वसम्मत रुपमा मेयरको उम्मेदवार चयन गर्न नसकेपछि उपमहानगर कमिटीले ३ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र इन्द्र प्रसाद नेपालको नाम सिफारिस गर्ने निर्णय गरेको छ । उपमेयरमा पनि सात जनाले आकाँक्षा देखाएको भएपनि सहमतिका आधारमा तीन जनाको नाम सिफारिस गरिएको हो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले अब सबैजना एकजुट भएर एमालेलाई जिताउन लाग्नुपर्ने बताए । यसैगरी एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले मकवानपुरका दश वटै स्थानीय तहमा एमालेको जित सुनिश्चत रहेको दावी गरे ।

एमाले स्रोतका अनुसार संविधानसभा सदस्य अनन्त पौडेललाई टिकट दिने गरी पार्टी भित्रै कसरत भइरहेको छ । बहालवाला मेयरको जिम्मेवारी पाएर पनि आम जनता र पार्टीको हितमा उल्लेख्य काम गर्न नसकेको आरोप खेप्दै आएका महतले चुनाव हार्ने आँकलन गरी टिकट अनन्त पौडेललाई दिने कसरत भइरहेको जिल्लास्तरका एक नेताले बताए ।  यता महत निकट नेताहरुले भने बहालवाला मेयरले ५ बर्षको अनुभव संगालिसकेको एक पटक महतलाई नै टिकट दिइनुपर्ने दावी गर्दै आएका छन् । मेयरमा सिफारिस भएका महत वा पौडेलले टिकट पाउने र पार्टीबाट मेयर पदमा महिलाको उपस्थिति देखाउनको लागि मात्रै प्रधानको नाम सिफारिस गरिएको एमालेकै नेताहरु बताउँछन् ।