वडा अध्यक्ष बन्ने कसरतमा विकेशलाल
मकवानपुर । आसन्न वैशाख ३० गतेको लागि तय भएको स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गरी विभिन्न राजनीतिक दलहरुले चुनावी अभियानलाई तीव्रताका साथ अघि बढाइरहेका छन् । टिकटको लागि लभिङ गर्नेदेखि उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ । यस पटकको निर्वाचनमा युवा पुस्ताको सक्रियता उल्लेख्य देखिएको छ । यसैक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ को वडाअध्यक्ष पदमा तरुण नेता विकेशलाल श्रेष्ठले उम्मेदवारी दावी गरेका छन् ।
शनिवार सम्पन्न क्रियाशील तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले वडा अध्यक्ष पदमा उम्मेदवारी रहने दावी गरे । उनले आफ्नो उम्मेदवारीमा पार्टीका सबै क्रियाशील सदस्य तथा अग्रजहरुको समर्थन गरेको दावी गर्दै एक व्यक्ति एक पद र एक कार्यकालको अवधारणा हुनुपर्ने बताए । उनले आफुले युवा, बालबालिका तथा जेष्ठ नागरिक सबैलाई समेटेर अघि बढ्ने सुनाए । उनले अब युवा पुस्तालाई नेतृत्व दिनुपर्ने र समाज परिवर्तनको जिम्मेवारी अब युवाहरुले सम्हाल्नुपर्ने बताउँदै सबैको सहयोग पाए आफु निर्वाचिन हुनेमा विश्वस्त रहेको बताए ।
२०६८ सालबाट राजनितिमा प्रवेश गरेका उनी २०७१ सालमा तरण दल इकाई अध्यक्ष बनेका थिए । उनी पछि पार्टीको तरुण दल विभागीय सदस्य बन्दै विभिन्न समयमा पार्टीमा योगदान गर्दै आइरहेका छन् । उनी १४ औं महाधिवेसनमा क्षेत्रीय प्रतिनिधि बन्दै बागमती प्रदेश महाधिवेसनमा अत्याधिक मत ल्याएर बागमती प्रदेश प्रतिनिधि बनेका थिए । उनी मकवानपुरको क्षेत्र २ को प्रदेश सभा (क) क्षेत्रीय सदस्य समेत रहेका छन् ।
राजनिति संगसँगै सामाजिक कार्यमा पनि लोकप्रिय रहेका श्रेष्ठ लियो, लायन्स, जेसीस जस्ता विभिन्न सामाजिक संघ संस्थाहरुमा कुशल नेतृत्व प्रदान गर्दै आइरहेका छन् । उनी मकवानपुर उद्योग वाणिज्य संघका सदस्य समेत हुन् ।
