हेटौंडाका सुजन अभिनित फिल्म देशैभर प्रदर्शन
मकवानपुर । हेटौंडा–११ निवासी कलाकार सुजन नेपाली अभिनित नेपाली कथानक चलचित्र ‘मैले आई लभ यु भन्नै सकिन’ शुक्रबारदेखि देशभरका चलचित्र हलहरुमा प्रदर्शन भएको छ । लामो समयदेखि कलाक्षेत्रमा संघर्षरत् सुजनको उक्त चलचित्रमा मुख्य भूमिका छ ।
चलचित्रको ट्रेलर तथा गीतहरु साइराम पिक्चर्समार्फत् यसअघि नै सार्वजनिक भइसकेको छ । चलचित्रमा सुजन नेपालीसँगै चर्चित कलाकारहरु अनिशा सुनार, बुद्धि तामाङ, अञ्जली अधिकारी, सुनिल भुषाल, सुरवीर पण्डित, जयनन्द लामा, राजाराम पौडेल, सुरज कार्की, सुवास नेपाली, लक्ष्मी भट्ट, दावा लामा, कविता पुरी, निरुता तामाङ, शितल खड्का, श्रुति मगर, सरस्वती तामाङ, इच्छा तामाङ, लक्ष्मी भट्ट, आर्जिता थापालगायतको अभिनय छ ।
शंकर कार्की र बाबु जिम्बाको निर्देशनमा तयार भएको चलचित्रका सहनिर्देशक प्रणव सुबेदी हुन् । शंकर कार्कीको कथा रहेको चलचित्रलाई तारा थापा किम्भेले सम्पादन गरेका छन् । आशीष जिम्बा र सुशील डाँगीको छायांकन रहेको चलचत्रिका द्वन्द्व निर्देशक वीरु मास्टर हुन् । प्रेम श्रेष्ठको निर्माणमा चलचित्र तयार भएको हो । चलचित्रको सहनिर्मातामा मेसरबहादुर नेपाली र भक्तबहादुर नेपाली छन् । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ ।
