एमालेद्वारा हेटौंडाका विभिन्न वडामा उम्मेदवारको नाम सिफारिस

तु खबर संवाददाता
२०७८ चैत्र २४, बिहीबार १८:३९
file-photo

मकवानपुर । नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाहरुमा उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षसहित सदस्यहरुको नाम सिफारिस गरेको एमाले मकवानपुरले जनाएको छ ।

एमाले मकवानपुरका अनुसार, केही वडाहरुबाट सहमति कै आधारमा र केही वडाबाट महिलासहित तीन जनाको नाम सिफारिस गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १, २, ४, ५, ६, ७,  ८, ९, ११, १२, १३, १४, १६ बाट नाम सिफारिस भएर आइसकेको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । अन्य वडाहरुमा पनि उम्मेदवारको नाम टुंगो लगाउने काम भइरहेको उनले बताए ।

एमालेले हेटौंडा–२ बाट हरिबहादुर राउत, हेटौंडा–४ बाट नविन सिग्देल, हेटौंडा–५ बाट सुशिल घिमिरे, हेटौंडा–६ बाट विश्वराज राई, हेटौंडा–७ बाट राजन थापा,  हेटौंडा–१२ बाट राजेश नगरकोटी, हेटौंडा–१३ बाट पेम्बा लामा, हेटौंडा–१ मा उत्तमप्रसाद पौडेल, हेटौंडा–१६ मा बसन्तप्रसाद लामिछाने र हेटौंडा–१४ बाट दिपक खड्काको नाम वडाध्यक्षको लागि सिफारिस गरेको हो ।

यस्तै, हेटौंडा ११ , हेटौंडा ९ र  हेटौंडा ८ मा भने एक महिलासहित तीन/तीन जनाको नाम सिफारिस भएको छ । जसमध्ये हेटौंडा ११ मा जमुना दाहाल, रामचन्द न्यौपाने र दीपक शिलावालको नाम सिफारिस भएको छ  । यस्तै, हेटौंडा ९ मा नरेन्द्र भण्डारी, लक्षमण भण्डारी र गोम शाह, हेटौंडा–८ बाट बोलबहादुर कार्की, यशोदा उप्रेती र रमेशकुमार पौडेलको नाम सिफारिस भएको एमाले मकवानपुरका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

ती वडाहरुमा जिल्ला पार्टी नेतृत्वको निर्देशन अनुसार, उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । सकेसम्म सर्बसहमतीबाट वडा अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गर्ने र नभएमा मात्र तीन जनाको नाम सिफारिस गर्नेगरी निर्देशन दिएको थियो । हेटौंडाको बाँकी वडामा पनि उम्मेदवारको नाम टुंगो लगाउने काम भइरहेको एमाले मकवानपुरका अध्यक्ष श्रेष्ठले बताए ।