सशक्त पत्रकारिता नै समाज परिवर्तनको सम्वाहक: प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सञ्चार माध्ययमहरुले नागरिकहरुको सुसूचित हुने अधिकारको प्रर्वद्धन गरिरहेको बताउँदै आगामी दिनमा थप सशक्त र जनताप्रति जवाफदेहीपूर्ण ढंगबाट सञ्चार क्षेत्र अघि बढ्नुपर्ने सुझाव दिएका छन् । स्टेट भिजन प्रा.लि.द्वारा सञ्चालित तु खबर डटकमको पाँचौँ वार्षिक उत्सव तथा पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले जिम्मेवार तथा सशक्त पत्रकारिता नै समाज परिवर्तनको सम्वाहक भएको उल्लेख गरे ।
उनले सत्यको सम्प्रेषण गर्न सकेको अवस्थामामात्रै पत्रकारिता क्षेत्रले सफलता प्राप्त गरेको मानिने बताए । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको अतिरिक्त देश र जनतालाई अदम्य शाहस भएको स्वाभिमानयुक्त पत्रकारिता आवश्यक भएको बताए । विभिन्न कालखण्डमा शासकहरुबाट पत्रकारिता क्षेत्रलाई दबाउन भएका प्रयासहरु बिफल पार्दै निडरतापूर्वक अघि बढेको पत्रकारिता क्षेत्रकै बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताउँदै यसको रक्षाका निम्ति पनि पत्रकारहरु उत्तीकै जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।
पत्रकारिता क्षेत्रले समाजमा विद्यमान, कुरीति, कुसंस्कृति, अन्धविश्वास र राजनीतिक क्षेत्रमा रहेका ययास्थितिवादीहरुको विपक्षमा उभिएर जनताको हक र हितको पक्षमा इमान्दार भएर काम गर्नुपर्ने बताए । उनले मिडिया क्षेत्रको उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै तु खबरको वार्षिक उत्सवका अवसरमा विभिन्न बिधामा पुरस्कृत हुने पत्रकारहरुलाई बधाई ज्ञापन गरे । उनले मोफसलबाट सञ्चालित सञ्चार माध्ययमले यो स्तरको अनुकरणीय कार्य गरेको भन्दै प्रशंसा गरे । उनले तु खबर स्मारिकामा दृष्टिकोण, सूचना, विचार, मनोरञ्जन तथा अभिप्रेरणा प्रवाहित गर्ने सामग्री समावेश भएको बताउँदै आगामी दिनमा निरन्तर सफलताको कामना गरे ।

कार्यक्रममा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी, राजधानी डेल्ली डटकमका सम्पादक धु्रव लम्साल, नेपाल समाचार पत्रका मकवानपुर संवाददाता रोशन पराजुली, रेडियो मकवानपुरका समाचार प्रमुख राजन दाहाल (खुसराज), धादिङ्पोष्ट डटकमका सम्पादक नारायण शिलवाल र विभिन्न छापाखानामा पत्रपत्रिका छपाईको काम गर्दै आएका सोमबहादुर विष्टलाई नगदसहित पुरस्कृत गरिएको थियो ।
तु खबरका सम्पादक गिरिजा अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्त प्रजा, बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइराला, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, नेपाल पत्रकार मञ्चका महासचिव विमल थापा, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु, विभिन्न राजनीतिक दलका जिल्ला अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

