बागमती प्रदेश प्रमुख शर्मा डिस्चार्ज

तु खबर संवाददाता
२०७८ आश्विन १७, आईतवार १६:५५

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा उपचारपछि डिस्चार्ज भएका छन् । मुटु सम्बन्धि समस्याबाट पीडित प्रदेश प्रमुख शर्मा गत असोज ४ गतेबाट उपचाररत थिए । उनी गत १४ गते बेलुका अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

विगत ७ वर्षदेखि मुटु सम्बन्धि समस्याबाट पीडित रहेका प्रदेश प्रमुख शर्मालाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए । प्रदेश प्रमुख शर्माको स्वकीय उपसचिव पारशमणि फुयालका अनुुसार, प्रमुख शर्माको शहिद गंगालाल हृदयरोग केन्द्र, उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भएको हो ।

‘उपचारपछि पूर्ण रुपमा घरमै पूर्ण रुपमा स्वास्थ्य लाभ गरिरहेको छु ।’ प्रदेश प्रमुख शर्माले भने, ‘अहिले स्वास्थ्य अवस्था सामान्य छ ।’ प्रमुख शर्माले आफ्नो उपचारका लागि भूमिका खेलेका तीन वटै अस्पतालका मेडिकल टिमलाई धन्यवाद व्यक्त गरेका छन् । यस्तै, शर्माले आफू अस्वस्थ्य भई अस्पतालमा उपचाररत रहेका बेला स्वास्थ्य लाभका लागि कामना गर्ने अग्रज, शुभेच्छुक तथा शुभचिन्तकप्रति आभार व्यक्त गरे ।

‘मेरो उपचारका लागि खटिएर लागिपर्ने मेडिकल टिम,मेरो स्वास्थ्यप्रति चासो राख्दै स्वास्थ्य लाभको कामना गर्नु हुने मेरा अग्रज व्यक्तित्व, शुभेच्छुक तथा शुभचिन्तक सबैप्रति कृतज्ञता व्यक्त गर्दछु ।’ प्रदेश प्रमुख शर्माले भने । प्रदेश प्रमुख शर्मा आगामी मंगलबार नियमित फलोअपपछि नियमित कार्यमा फर्कनुहुने स्वकीय उपसचिव फुयालले जानकारी दिए ।