दुर्घटनामा दुई जनाको मृत्यु, ३ जना घाइते
वीरगञ्ज । पर्सामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखरिया नगरपालिका–३ स्थित पोखरिया–लंगडी सडकखण्डमा बिहीबार ना ३ प १०२६ र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर दुई वटै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ना ३ प १०२६ नम्वरको मोटरसाइकल चालक धोबिनी गाउँपालिका–२ गुलरियाका ३५ वर्षीय ललनप्रसाद कुर्मी र प्रदेश २–०३–००४ प ७४७६ नम्वरको मोटरसाइकल चालक सखुवाप्रसौनी गाउँपालिका–५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनी रहेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।
त्यस्तै, सोही दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा ना ३ प १०२६ नम्वरको मोटरसाइकलमा सवार धोबिनी गाउँपालिका–२ का २० वर्षीय रोजदिन मियाँ, प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकलमा सवार सखुवाप्रसौनीका १९ वर्षीय सुपेन राउत र रंजित महतो रहेका छन् । सुपेन र राउतको वीरगञ्जको पानीटंकीस्थित न्यूरो अस्पतालमा र रोजदिनको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
