पञ्चकन्या सामुदायिक वनको वार्षिक साधारणसभा सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ मा रहेको पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको २६ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । हेटौंडा–१८ का वडाध्यक्ष अनिल बानियाँका प्रमुख आतिथ्यता एवम् समूहका अध्यक्ष छन्दप्रसाद न्यौपानेको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा समूहका अध्यक्ष छन्दप्रसाद न्यौपानेले चालु आव ०७८/०७९ को लागि ३ करोड बढीको बजेट प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष धनबहादुर घलानले आव ०७५/०७६, आव ०७६/०७७ र ०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा पूर्व अध्यक्षहरु कृष्णबहादुर भट्टराई, दिपेन्द्र बानियाँ, केशवराज पण्डित, गोपालबहादुर न्यौपाने, संचारकर्मी भीमसेन पौडेल, समूहका पूर्व पदाधिकारी, ज्येष्ठ उपभोक्ता लगायतकालाई सम्मान गरिएको थियो ।
साधारणसभामा हेटौंडा –१८ का वडा सदस्य तोयनाथ तिमल्सिना, डिभिजन वन कार्यालयका निमित्त प्रमुख बसन्तराज गौतम, सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशकी कोषाध्यक्ष निर्मला न्यौपाने, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, सव डिभिजन वन कार्यालय हर्नामाडीका अधिकृत दीपक प्रसाद पुडासैनी, बंशगोपाल सामुदायिक वनका अध्यक्ष हरेराम बानियाँ, समूहका सल्लाहकार केशवराज पण्डित, गोपालबहादुर न्यौपानेलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
