अफगानिस्तानमा पुरुष साथमा नभए महिलाहरू हवाइजहाज चढ्न नपाउने

तु खबर संवाददाता
२०७८ चैत्र १४, सोमबार १३:५५

काठमाडौँ । अफगानिस्तानमा महिलाहरूलाई एक्लै हवाइजहाजमा यात्रा गर्न रोक लगाइएको छ । तालिबानले एकल यात्रा गर्ने महिलाहरूलाई उडानमा रोक लगाएको समाचार त्यहाँका सञ्चारमाध्यमहरुले प्रकाशन गरेका छन् । तालिबानले पुरूष आफन्तबिना एक्लै यात्रा गर्ने सम्पूर्ण महिलालाई रोक्न अफगानिस्तानस्थित काबुल एयरलाइन्सलाई आदेश दिएको छ । तालबानीहरूले आइतबार नै एक्लै यात्रा गरिरहेका महिलाहरूलाई बोर्डिङ पास दिन रोक्न आदेश दिएको हो ।

गत बिहीबार तालिबानी प्रतिनिधि, दुई एयरलाइन्स र अध्यागमन अधिकारीहरूबिच छलफल भएको थियो। त्यसपछि सो निर्णय लिइएको बताइएको छ ।तालिबानहरूले पहिले नै एकबाट अर्को सहरमा यात्रा गर्न महिलाहरूलाई प्रतिबन्ध लगाएको थियो। अहिले उडानमा पनि रोक लगाएको हो ।