अफगानिस्तानमा भूकम्पबाट २६ जनाको ज्यान गयो

तु खबर संवाददाता
२०७८ माघ ४,मंगलवार ११:०५
File Photo

काठमाडौं । अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको ज्यान गएको छ । पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको ज्यान गएको समाचार एजेन्सी एएफपीले जनाएको छ । बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ । भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन् ।

तुर्कमेनिस्तानसँग सीमा जोडिएको यो प्रान्त पहाडी क्षेत्र हो, जसलाई अफगानिस्तानको गरिब र अविकसित क्षेत्र मानिन्छ । सो क्षेत्रमा पहिलो भूकम्प गएको दुई घण्टापछि दोस्रो धक्का महसुस गरिएको थियो । प्रान्तका प्रवक्ता बाज मोहम्मद सरवरीले समाचार एजेन्सी एएफपीसँग भनेका छन्– भूकम्पबाट पाँच महिला र ४ बालबालिकासहित २६ जनाको ज्यान गएको भएको पुष्टि भएको छ ।

आपतकालीन सन्चालन केन्द्रका प्रमुख मुल्ला जनानले समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार त्यहाँका ७ सय भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । भूकम्पले मुकर जिल्लामा पनि क्षति पुगेको छ । तर त्यहाँको विवरण प्राप्त भइसकेको छैन । भूकम्प प्रभावित क्षेत्रमा भारी वर्षा पनि भएको छ । उद्धार जारी रहेकाले हताहतीको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।