रूस र युक्रेनबीच टर्कीमा वार्ता हुने
काठमाडौँ । रूस र युक्रेनबीच टर्कीमा वार्ता हुने भएको छ । दुबै पक्षका अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरे अनुसार टर्कीको इस्तानबुल सहरमा यसै साता वार्ता गर्ने गरी तयारी भइरहेको छ । गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण सुरू गरेको थियो। त्यसपछि दुई देशका अधिकारीहरूबीच बेलारूसको सीमामा वार्ता भएको थियो । ती वार्ताहरू कुनै सहमतिमा पुग्न नसकेपछि पछिल्लो समय अधिकारीहरूले भर्चुअल संवाद गर्दै आएका थिए ।
इस्तानबुलमा दुबै पक्षका वार्ता टोली सदस्यहरूले भेटेर कुरा गर्ने बताइएको छ । टर्की सरकारले वार्ता सबै तयारी भइसकेको बताएको छ। वार्ता आजदेखि नै सुरू हुने र बुधबारसम्म हुने युक्रेनी वार्ताकारले बताएका छन् । उत्तर अमेरिकी सन्धी संगठन नेटोको सदस्य राष्ट्र भए पनि टर्कीले रूस–युक्रेन युद्धमा मध्यस्थकर्ताको भूमिका निभाइरहेको छ । मार्चको सुरूआतमा टर्कीले रूस र युक्रेनका विदेश मन्त्रीबीच भेट गराएको थियो ।
