बागमती प्रदेश : कृषि र पशु कार्यालयहरुको समिक्षा
मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाको दोस्रो चौमासिक समिक्षा हेटौंडामा सुरु भएको छ । आइतबारबाट सुरु भएका समिक्षा आज (सोमबार) सम्म संचालन हुनेछ । दुई वटै कार्यालयको समिक्षाको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले एकै पटक गरेका हुन् ।
समिक्षाको पहिलो दिन आइतबार प्रदेशका उत्कृष्ट ५ जना किसानहरुलाई नगदसहित सम्मान गरिएको छ । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार अन्तर्गत प्रथम हुने चेतना कृषि तथा पशुपन्छी फर्म धादिङका युद्धप्रसाद न्यौपानेलाई नगद ५० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो ।
यस्तै, द्धितिय हुने दिदी बहिनी कृषि फर्म भक्तपुरकी गिता रिजाललाई नगद ४५ हजार रुपैयाँ, तृतीय हुने थाहा पौरखी कृषि प्रा.लिकी बरी बललाई नगद ४० हजार रुपैयाँ, चौथो हुने कामना फलफुल बहुउद्देश्यीय नर्सरी फर्म रामेछापलाई नगद ३५ हजार र पाचौं हुने न्यू महाङ्काल कृषि फर्म काभ्रेलाई नगद ३० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

प्रदेशका सबै जिल्लाका कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्र मार्फत प्रत्येक जिल्लाबाट ३ जनाको दरले ३७ जना कृषकहरुको प्रस्ताव कृषि विकास निर्देशनालयले सङ्कलन गरेको थियो । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेको नेतृत्वको प्रदेशिक समितिले उत्कृष्ट ५ जना कृषकहरुलाई पुरस्कृत गर्न छनोट गरेको थियो ।
