नेकपा एमालेले बोलायो स्थायी कमिटी बैठक

तु खबर संवाददाता
२०७८ चैत्र १३, आईतवार १०:२६
file-photo

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आइतबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उपप्रमुख रिजालका अनुसार महाराजगञ्जस्थित रोयल दरबार रेष्टे एण्ड भेन्युमा बस्नेछ ।

उक्त बैठक आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनाव केन्द्रित हुने रिजालले बताए । आजको बैठकले हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित निर्णयबारे ठोस कार्ययोजना बनाएर पार्टी पङ्क्तिलाई निर्वाचनमा परिचालन गर्ने योजना तय गर्नेछ ।

एमाले स्थायी कमिटीमा १९ पदाधिकारीसहित ४५ जना सदस्य छन् भने चार जना पदेन सदस्य रहेका छन् । चैत्र १० मा सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनसहित चुनाव लक्षित ११ वटा एजेण्डा पारित गरेको थियो ।