समाजवादीको एक हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

तु खबर संवाददाता
२०७८ चैत्र ६, आईतवार ०८:१३

मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरले स्थानीय तह निर्वाचन तयारीका लागि १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टीको शनिबार हेटौंडामा बसेको सचिवालय बैठकले एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको संयोजकत्वमा कमिटी गठन गरेको हो ।

कमिटीमा पार्टीका जिल्ला कमिटी, १० स्थानीय तह कमिटी, जनसंगठनहरुका कार्यसमितिसहित १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । सचिवालय बैठकले मकवानपुरका १० स्थानीय तहमा पार्टी अभियान संचालनका लागि सहजकर्ताहरु पनि तोकेको छ ।

हेटौंडा उपमहानगरपालिकामा पार्टी अध्यक्ष श्रीधर पोखरेल, थाहा नगरपालिकामा पोलिटब्युरो सदस्य ललित बस्नेत, मनहरी गाउँपालिकामा केन्द्रीय सदस्य राजाराम स्याङ्तान र प्रदेश कमिटी सदस्य गोविन्दराम चेपाङ, भीमफेदी गाउँपालिकामा केन्द्रीय सदस्यद्वय मुनु सिग्देल र सूर्यचन्द्र न्यौपाने, राक्सिराङ गाउँपालिकामा कल्याण विक्रम घलान, बागमती गाउँपालिकामा प्रदेश कमिटी सदस्य यादव गजुरेल, बकैया गाउँपालिकामा पार्टी सचिव विष्णु दाहाल, इन्द्रसरोवर गाउँपालिकामा केन्द्रीय सदस्य सूर्यचन्द्र न्यौपाने र निर्वाचन आयोग सदस्य रामचन्द्र बल, कैलाश गाउँपालिकामा प्रदेश कमिटी सदस्य गोविन्दराम चेपाङलाई सहजकर्ता चयनसँगै सबै पालिकामा चैत १५ भित्र बैठक बसेर अभियानलाई सक्रिय बनाइने निर्णय भएको एकीकृत समाजवादी मकवानपुरका प्रचार विभाग प्रमुख रामकुमार एलनले बताए ।

बैठकलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष एवम् बागमती प्रदेश इञ्चार्ज केदार न्यौपानेले संघीय निर्वाचनको परिणामसम्म गठबन्धन कायम रहने बताए । स्थानीय तह निर्वाचनमा कयौँ स्थानमा चाहँदाचाहँदै पनि गठबन्धनलाई छाड्नु पर्ने अवस्था पनि आउन सक्ने बताउँदै न्यौपानेले संघीय निर्वाचनसम्म गठबन्धनको चक्र नरोकिने बताए । गठबन्धनले कार्यदल बनाएर नै स्थानीय तहको भागवण्डा हुने उनको भनाई छ ।

बैठकमा पार्टी पोलिटब्युरो सदस्य एवम् मकवानपुर इञ्चार्ज ललित बस्नेत, केन्द्रीय सदस्यहरु मुनु सिग्देल, राजाराम स्याङ्तानलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।