हेटौंडामा सहकारी सम्बन्धी २ दिने कार्यशाला
मकवानपुर । सहकारी संस्थाहरुको सहभागितामा सहकारी क्षेत्रमा देखिएका समस्या, समाधान र अवसर बिषयक २ दिने कार्यशाला गोष्ठी सात बुँदे प्रतिवद्धता पत्र घोषणा सहित सम्पन्न भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार र मंगलबार सम्पन्न गोष्ठीले वर्तमान अवस्थामा सहकारीमा आएको समस्याहरुको समाधान गर्न र सहकारीको क्षमता विकास गर्नकालागि पहल गर्ने बिषयमा छलफल गरिएको थियो ।
गोष्ठी बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यता एवं बागमती प्रदेश सहकारी बोर्डका अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको अध्यक्षतामा गोष्ठी सञ्चालन भएको हो । बागमती प्रदेश सहकारी बोर्डको आयोजनामा भएको गोष्ठीमा बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाले प्रदेश तहका सहकारीहरुको क्षमता विकासका लागि आवश्यक नीतिगत ब्यवस्था गर्नकालागि पहल गर्ने बताए ।
गोष्ठीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौला, सहकारी रजिष्ट्रार नारायण ज्ञावली, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेप्सकुनका केन्द्रीय अध्यक्ष पारितोष पौडेल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो । गोष्ठीमा वागमती प्रदेश अन्तरगत जिल्लाका सहकारी संघका अध्यक्षहरु, बिषयगत सहकारी संघका अध्यक्षहरु, सहकारी बोर्डका सदस्यहरुको सहभागिता रहेको थियो ।
