बागमती प्रदेश सरकार : ६ महिनामा कुल बजेटको १५ प्रतिशत मात्रै खर्च

तु खबर संवाददाता
२०७८ चैत्र १, मंगलवार १९:२७

मकवानपर । बागमती प्रदेश सरकारले ६ महिनाको अवधिमा कुल बजेटको १५ प्रतिशत खर्च गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय हेटौंडाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएको हो । सरकारले अर्ध वार्षिक अवधि समाप्त हुँदासम्म चालु आर्थिक वर्ष २०७८/०७९ को लागि कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको थियो । तीमध्ये १५ प्रतिशत अर्थात ८ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ खर्च गरेको हो ।

मन्त्रालयका अनुसार, सो अवधिमा कुल खर्चमध्ये चालुतर्फ विनियोजित ५ अर्ब २ करोड १६ लाख ३३ रुपैयाँको १९.३० प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ २ करोड ४८ लाख ५६ हजार रुपैयाँको र वित्तीय व्यवस्थातर्फ ७० करोड खर्च गरेको छ । जुन कुल विनियोजित रकमको क्रमशः १० दशवलम १८ प्रतिशत र ३५ प्रतिशत हुन आउँछ ।

चालु आर्थिक वर्षमा कुल राजस्व ३१ अर्व ६९ करोड ४१ लाख २७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा सो अवधिमा १३ अर्ब ५६ करोड ९२ लाख ५६ हजार रुपैयाँ प्राप्त भएको छ । जुन वार्षिक अनुमानको ४२ दशमलव ८१ प्रतिशत रहेको छ । प्राप्त भएको रकम गत वर्षको अर्ध वार्षिक अवधिमा संकलन गरिएको राजस्वको तुलनामा करिब ४० दशमलव ३१ प्रतिशतले बढि हो । गत वर्ष सरकारले कुल राजस्व २६ अर्ब ५ करोड ७६ लाख ९४ हजार प्राप्त हने अनुमान गरिएकोमा अर्ध वार्षिक समयमा कुल अनुमानको ३७ दशमलव १० प्रतिशत राजस्व प्राप्त भएको थियो ।

यस्तै, चालु आर्थिक वर्षमा संघीय सरकारबाट सशर्त, समानीकरण, समपुरक र विशेष अनुदान अन्तर्गत कुल १६ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ वित्तीय हस्तान्तरण प्राप्त हुने अनुमान गरिएको थियो । जस अन्तर्गत ६ महिनाको अवधिमा ९ अर्ब ४८ करोड १९ लाख ९५ हजार रुपैयाँ अर्थात ५६ दशमलव ०२ प्रतिशत प्राप्त भइसकेको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा संघीय सरकारबाट वित्तीय हस्तान्तरण अन्तर्गत प्राप्त रकममध्ये २ अर्ब ५० करोड ६० लाख ९० हजार खर्च भएको छ । जुन कुल हस्तान्तरित रकमको १४ दशमलव ८० प्रतिशत रहेको छ । त्यस्तै, समानीकरण अनुदानतर्फ १६ दशमलव ३१ प्रतिशत र समपूरक अनुदानतर्फ ३ दशमलव ६१ प्रतिशत खर्च भएको छ ।

यसैगरी, सशर्त अनुदानतर्फ १९ दशमलव ०५ प्रतिशत र विशेष अनुदानतर्फ ८ दशमलव १४ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिसम्म संघीय सरकारबाट सशर्त अनुदानतर्फ ४६ करोड ६४ लाख ३१ हजार रुपैयाँ थप रकम प्राप्त भएको छ । प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा स्थानीय तहलाई समानीकरण, सशर्त, समपुरक र वित्तिय अनुदानतर्फको कुल ७ अर्ब ५० करोड ५६ लाख ४१ हजार रुपैयाँ हस्तान्तरण गरिने अनुमान गरिएकोमा ६ महिनाको अवधिमा २ अर्ब ८० करोड ३५ हजार रुपैयाँ अर्थात ३७ दशमलव ३१ प्रतिशत हस्तान्तरण भएको छ ।

चालु आर्थिक वर्षको प्रथम ६ महिनामा स्थानीय तहमा सशर्त अनुदानतर्फ १ अर्ब ८ करोड ७ लाख ९१ हजार रुपैयाँ र वित्तीय समानीकरण अनुदानतर्फ ६४ करोड २० लाख ८४ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । साथै विशेष अनुदानतर्फ क्रमशः १३ करोड ४९ लाख ५ हजार रुपैयाँ र समपुरक अनुदानतर्फ ९३ करोड ४२ लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । स्थानीय तहहरूलाई वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण, समपूरक, विशेष तथा सशर्त अनुदानतर्फ ६ महिनाको अवधिसम्म २ किस्ता बापतको रकम हस्तान्तरण गरिएको छ ।