कक्षा १० सम्मको अन्तिम परीक्षा बैशाखमा गर्न निर्देशन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ बैशाखमा संचालन गरी बैशाखभित्रै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।
मंगलबार जारी गरिएको सूचनाका अनुसार, शैक्षिक सत्र २०७८ मा ओमिक्रोन (कोभिड–१९) संक्रमणका कारण विद्यालयको दैनिक सिकाइ क्रियाकलापमा असर परेकोले शैक्षिक सत्र २०७८ को पठनपाठन, परीक्षा तथा २०७९ को नयाँ भर्नाको समयमा परिवर्तन भएको हो ।
केन्द्रले विद्यार्थीको पठनपाठनमा अधिकतम समय र प्राथमिकता दिन आवश्यक भएकाले शैक्षिक सत्र २०७८ को चैत्र मसान्तसम्मको पुरै अवधि विद्यालयले नियमित रुपमा पठनपाठन संचालन गर्न निर्देशन दिएको छ ।
साथै, एसईई परीक्षा वैशाख ९ बाट सुरु हुने भएकाले स्थानीय तहले कक्षा ८ को परीक्षा पनि बैशाखमा नै अनुकुल समयमा संचालन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । यसैगरी, विद्यालयहरूले नयाँ शैक्षिक सत्र पनि बैशाखमा नै सुरु गर्नुपर्ने उल्लेख गरिएको छ भने, जेठ १ गतेबाट पठनपाठन पनि सुरु गर्नुपर्नेछ ।
