राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईईको समयतालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार २०८२ सालको एसईई परीक्षा चैत १९ गते बिहीबारदेखि सुरु भई चैत २९ गते आइतबारसम्म सञ्चालन हुनेछ।
यसअघि एसईई परीक्षा चैतको पहिलो सातामै हुँदै आएको भए पनि आगामी निर्वाचनका लागि आवश्यक मतपत्र र परीक्षाका प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रबाट नै छपाइ हुने भएकाले परीक्षा तालिकामा परिमार्जन गरिएको बोर्डले जनाएको छ।
परीक्षाको पहिलो दिन चैत १९ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। सोही दिन संस्कृततर्फ अनिवार्य संस्कृत रचना तथा अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने मदरसातर्फ अनिवार्य अरेबी भाषा र अंग्रेजी विषयको परीक्षा हुनेछ।
बोर्डका अनुसार सबै विषयको परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा व्यवस्थापन, सुरक्षालगायत सबै तयारी समयमै सम्पन्न गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
