बैवाहिक वर्षगाँठको अवसरमा जेष्ठ नागरिकलाई सम्मान

तु खबर संवाददाता
२०७८ फाल्गुन २८, शनिबार १७:०६

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका एक दम्पतीले आफ्नो बैवाहिक वर्षगाँठको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेका छन् । हेटौंडा–११ निवासी गोपीनाथ उप्रेती र सानुमाया उप्रेतीले शनिबार आफ्नो ६६ औं बैवाहिक वर्षगाँठको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।

त्रिभुवन विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी केक काटेर वर्षगाँठ मनाउँदैं वडाभित्र बसोबास गर्ने ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको गोपीनाथ उप्रेतीले जानकारी दिए ।

उनले वडामा बस्ने १५० जना जेष्ठ नागरिकलाई दिवा खाजा, रामनामी, दोसल्ला, न्यानो कपडा (गम्सा) र हिडडुल गर्न सहज होस् भन्ने हेतुले लौरो सहयोग गरेको बताए । उक्त सम्मान कार्यक्रममा ७५ वर्षदेखी १०१ वर्ष सम्मका जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।