वरिष्ठ संगीतकार दीपक जङ्गमलाई विजुली माया वन संगीत राष्ट्रिय पुरस्कार
मकवानपुर । भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान हेटौंडाले यस वर्षको विजुली माया वन संगीत राष्ट्रिय पुरस्कार वरिष्ठ संगीतकार प्राध्यापक दीपक जङ्गमलाई प्रदान गरेको छ । भीम विरागको १० औं स्मृती दिवसको अवसरमा शनिबार हेटौंडामा आयोजित विशेष समारोहबीच संगीतकार जंगमलाई पुरस्कार प्रदान गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्य र वरिष्ठ साहित्यकार एल बि क्षेत्रीले वरिष्ठ संगीतकार जंगमलाई एक लाख रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो । नेपाली सांगितिक क्षेत्रमा ५ दशक भन्दाबढी योगदान पुर्याएका जंगमले चार हजारभन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सय भन्दा बढी गीतमा स्वर दिएका छन् ।
हेटौंडाका समाजसेवी कन्हैया कृष्ण श्रेष्ठले २०६४ सालमा सम्मान स्थापना गरेका थिए । श्रेष्ठले आफ्नो आमाको नाममा यस सम्मान स्थापना गरेका हुन् । संस्थाका अध्यक्ष आचार्यका अनुसार यस सम्मान यसअघि संगीत क्षेत्रमा योगदान पु¥याएका १२ जना अग्रज संगीतकार तथा वरिष्ठ गायकलाई समर्पण गरिसकिएको छ । प्रतिष्ठानले साहित्य, संगीत, सांस्कृति तथा कला क्षेत्रमा स्थापना कालदेखि वार्षिक १० वटा पुरस्कार एवम् सम्मान प्रदान गर्दै आइरहेको छ ।
