एकीकृत समाजवादीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा एमालेको आपत्ति
काठमाडौं । नेकपा एमालेले नेकपा एकीकृत समाजवादी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा आपति जनाएको छ । निर्वाचन आयोगले शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गरेको थियो ।
छलफलमा सहभागी एमालेका प्रतिनिधिहरूले नेकपा एकीकृत समाजवादीसँगै लोकतान्त्रिक समाजवादी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा आपत्ति जनाएको हो । गत भदौ २ गते सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुयर्नएर दल फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो ।
सोही अध्यादेश अनुसार माधव नेपालले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुरले जसपा फुटाएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरेका थिए । जसलाई निर्वाचन आयोगले भदौ ९ गते नै मान्यता दिएको थियो ।
छलफलमा एमालेका नेताहरुले राजनीतिक दलसम्बन्धी ऐनले अध्यादेश फिर्ता भएपछि राष्ट्रिय दल रहने वा नरहने वा अध्यादेश अनुसार बनेको पार्टी कहिलेसम्म राष्ट्रिय दल रहने भनेर प्रष्ट नबनेकाले दुई दललाई राष्ट्रिय दलको मान्यता दिन नमिल्ने बताएका थिए । यससबारे निर्वाचन आयोगका अधिकारीहरूले भने केही पनि बोलेनन् ।
