हेटौंडामा ढाट राखेर दस्तुर नउठाउन अन्तरिम आदेश जारी
मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलासले हेटौंडामा ढाट राखेर दस्तुर नउठाउन अन्तरिम आदेश जारी गरेको छ । उपमहानगरपालिकाले ठेक्का प्रणालीबाट हेटौंडाको बसपार्कको बाइपास सडकमा ढाट राखी दस्तुर उठाउँदै आएकाले सो कार्य रोक्न स्थानीयवासी उर्मिला न्यौपानेले रिट दायर गरेकी थिइन् ।
दस्तुर उठाउने प्रयोजनका लागि वैकल्पिक मार्गबाट सवारी साधनलाई जान बाध्य गराउने कार्य नगर्न र नगराउनु भन्दै न्यायाधीशद्वय नागेन्द्रलाल कर्ण र निर्मला शाक्यको संयुक्त इजलासले बिहीबार उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम उक्त आदेश जारी गरेको हो ।
बहसमा निवेदनको तर्फबाट अधिवक्ता ईश्वरराज ढकाल र विपक्षी शक्ति इन्फ्रा डेभलपर्स प्रालिका तर्फबाट अधिवक्ता मदनकुमार दाहाल, हेटौंडा उपमहानगरपालिकाको तर्फबाट अधिवक्ता मुकुन्दप्रसाद अधिकारी, सडक कार्यालयका तर्फबाट उपन्यायाधिवक्ता मजोजप्रसाद गुप्ताले बहस गरेका थिए ।
