मकवानपुरमा एक मतदान स्थल सार्ने र एक थप्ने निर्णय
मकवानपुर । स्थानीय तहको निर्वाचका लागि मकवानपुरको एक मतदानस्थल सार्ने र एक मतदान स्थल थपिने भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को बासुदेव सभागृहको मतदान स्थल सार्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
बासुदेव सभागृह भत्काएर नयाँ भवन निर्माणको काम भइरहेकाले उक्त मतदानस्थललाई हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ भूटनदेवी माध्यमिक विद्यालयमा सार्ने निर्णय भएको प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले जानकारी दिए । उनका अनुसार, सो निर्णयलाई निर्वाचन आयोगले पनि सदर गरिसकेको छ ।
त्यस्तै, जिल्लाको मनहरीमा एउटा मतदानस्थल थप गर्ने निर्णय भएको छ । मनहरी गाउँपालिका वडा नम्वर ६ मा मतदानस्थल थप गर्ने निर्णय भएको उनले बताए । भौगोलिक अवस्था र मतदाताको संख्याका आधारमा सो मतदानस्थल थप गर्ने निर्णय भएको उनले बताए । योसँगै मकवानपुरमा मतदानस्थलको संख्या १६५ पुगेको छ । यसअघि मकवानपुरमा १६४ वटा मतदानस्थल रहेको थियो ।
निर्वाचन कार्यालय मकवानपुरले यस पटक मतदान केन्द्र पनि थपिने जनाएको छ । यस पटक मकवानपुरमा मतदाताको संख्यामा वृद्धि भएकाले मतदान केन्द्र थप गर्ने तयारी भएको अधिकारी पोखरेलले बताए । २०७४ सालको निर्वाचनमा २९५ मतदान केन्द्र रहेको मकवानपुरमा यस पटक ३२५ मतदान केन्द्र कायम गर्ने तयारी भएको उनको भनाई छ । २०७४ सालको निर्वाचनमा मकवानपुरका १६५ मतदान स्थलमा २९५ मतदान केन्द्र कायम गरिएको थियो ।
मकवानपुरमा यस पटक झण्डै ४० हजार मतदाता थपिएका छन् । जिल्लामा यस पटक ३९ हजार ९ सय ४६ मतदाता थपिएको जिल्ला निर्वाचन व्यवस्थापन समितिले जनाएको छ । यससँगै जिल्लामा कुल मतदाता संख्या २ लाख ९५ हजार ५ सय ५० पुगेको छ । जस अनुसार, जिल्लाको इन्द्रसरोबर गाउँपालिकामा १२ हजार ४ सय ९५, कैलाश गाउँपालिकामा १४ हजार ६ सय २०, थाहा नगरपालिकामा ३२ हजार ३ सय १६, बकैया गाउँपालिकामा ३० हजार १३, बागमती गाउँपालिकामा २२ हजार ९०, भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय ४७, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय ५०, मनहरी गाउँपालिकामा २६ हजार ७ सय ५१ र राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ७३ जना मतदाता रहेका छन् ।
यसअघि २०७४ सालको निर्वाचनमा मकवानपुरमा २ लाख ५५ हजार ६ सय ४ जना मतदाता थिए । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा भने मकवानपुरमा २ लाख २७ हजार ७ सय ५९ जना मतदाता थिए ।
