निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दै
काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे राजनीतिक दलहरुसँग आज (शुक्रबार) छलफल गर्दैछ । संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिहरुलाई छलफलका लागि बोलाइएको आयोगले जनाएको छ ।
बिहान ११ः३० बजेका लागि बोलाइएको स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी गराउने र दलहरुको अपेक्षाबारे रायसुझाव लिइने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आगामी स्थानीय तह निर्वाचनका लागि आयोगले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक ७९ दललाई मान्यता दिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा ८० दलले दल दर्ताका लागि निवेदन दिएकामा ५७ दलले भाग लिएका थिए । उक्त निर्वाचनमा भाग लिएकामध्ये १८ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व छ ।
