कांग्रेसले आगामी चैत्र ७ गते हेटौंडामा प्रदेश कार्यालय उद्घाटन गर्ने
मकवानपुर । नेपाली कांग्रेस बागमतीको प्रदेश कार्यालय यही चैत्र ७ गते हेटौंडामा उद्घाटन गर्ने भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बिहीबार बसेको बैठकले सो निर्णय गरेको प्रदेश कार्यसमितिका महामन्त्री राजु श्रेष्ठले जानकारी दिए ।
यस्तै, सो बैठकले आगामी चैत्र ७ र ८ गते हेटौंडामा आफ्ना सदस्यहरुलाई स्थानीय निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको प्रदेश कार्यसमितिका महामन्त्री श्रेष्ठले बताए ।
साथै, बैठकले “घर घर जाउँ, कांग्रेस जिताऔं” अभियान सफल पार्न नगरपालिकाहरुमा आफ्ना सदस्य खटाउने भएको छ । बैठकले प्रदेश भित्रका ४१ नगरपालिका, १ उपमहानगरपालिका र ३ महानगरपालिकामा प्रदेश प्रतिनिधिको रुपमा प्रदेश सदस्यहरु खटाउने निर्णय गरेको हो ।
