बागमती प्रदेश प्रमुख शर्माद्वारा महिला दिवसको शुभकामना

तु खबर संवाददाता
२०७८ फाल्गुन २४, मंगलवार ०८:५५
file-photo

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिएका छन् । प्रदेश प्रमुख शर्माले मंगलबार विज्ञप्तिमार्फत ‘‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’’ भन्ने नारासहित विश्वभर मनाइदै गरिएको नारी दिवसका सन्दर्भमा सम्पूर्ण नेपाली नारीहरुमा सुख, शान्ति एवम् समृद्दिका लागि शुभकामना व्यक्त गरेका हुन् ।

शुभकामना सन्देशमा प्रदेश प्रमुख शर्माले भनेका छ्न्, ‘नेपालको संविधानले समेत मौलिक हकको धारा ३८ मा महिलामाथि हुने अत्याचार, शोषण, दमन र हिंसा जस्ता लैङ्गिक विभेद र अमानवीय व्यवहारहरू अन्त्य गरी पुरुष र नारीबीच समानताको प्रत्याभूति गर्न महिलाको हक सुनिश्चित गरेको छ । संविधानमा महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने व्यवस्था छ । यस्तै, संयुक्त राष्ट्र संघले सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरेको दिगो विकासका लक्ष्यहरू लैङ्गिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने र न्यायमा पहुँच पुर्याउने जस्ता विषयहरु महिला हित पक्षमा छन् ।’

विगतका तुलनामा महिलालाई हेर्ने दृष्टिकोण, सामाजिक सोच तथा प्रथामा क्रमिक रुपमा सकारात्मक परिवर्तन भइरहे पनि अझै पनि कहीँ–कतै पितृसत्तात्मक सोच कायम रहनाले महिला विकासका विभिन्न चरणमा अपेक्षाकृत उपलिब्ध हासिल गर्न चुनौतीहरु खडा भएको शुभकामना सन्देशमा उल्लेख छ ।

सन्देशमा उनले महिला र पुरुषका बिच लैङ्गिक समानताका लागि सम्बन्धित पक्षमा जागरण आउनुपर्नेमा जोड दिँदै भनेका छन्,‘महिला र पुरुषबीच विभिन्न बाहनामा हुने विभेद तथा हिंसा न्यूनिकरणका लागि समाजका सबैक्षेत्रमा जागरण आवश्यक पर्दछ । लैंगिक समानताका लागि समाजका सबै खाले वर्गको सोच र व्यवहारमा पनि समानताको खाँचो देखिएकाले महिला र पुरुषबीच समानता कायम गर्न आवश्यक कार्यमा सम्बन्धित पक्षको ध्यान जानु आवश्यक छ ।’

प्रमुख शर्माले लैंगिक समानताको साझा विषयलाई आत्मसात् गर्दै महिलाका सर्वाङ्गीण विकासका लागि क्रियाशील रहन सम्बद्घ पक्षलाई अन्तराष्ट्रिय नारी दिवसले थप प्रेरणा प्रदान गरोस् भन्ने पनि शुभकामना व्यक्त गरेका छन् ।