बागमतीमा प्रथम प्रदेश खेलकुद प्रतियोगिता हुँदै

तु खबर संवाददाता
२०७८ फाल्गुन २१, शनिबार ०८:३५

मकवानपुर । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले प्रथम प्रदेश खेलकुद प्रतियोगिता गर्ने भएको छ । फागुन २८ गते हेटौंडामा एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरिने गरिने जनाइएको छ । परिषद्ले पत्रकार सम्मेलनमार्फत् पहिलो पटक प्रदेशभरका खेलाडीलाई प्रोत्साहनको लागि प्रतियोगिताको आयोजना गर्न लागिएको जनाएको छ ।

९ वटा विभिन्न खेल प्रतियोगिता गरी खेलाडीको सम्मान, खेलकुदको प्रर्वद्धत र बागमती प्रदेशलाई खेलकुदको हवको रुपमा विकास गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ । युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा पुरुष फुलबल, व्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स, महिला फुटबल र बक्सिङ खेल खेलाइने जनाइएको छ ।

प्रतियोगितामा २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउने र प्रतियोगता गर्न करिब ८ करोड ४ लाख खर्च हुने अनुमान गरिएको बताइएको छ । खेलको उद्घाटन २८ गते मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गर्नुहुने र समापन काभ्रेको धुलिखेलमा हुने जनाइएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ र प्रत्येक खेलाडीको बीमाको व्यवस्था गरिएको जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले नयाँ मन्त्रालय भएकाले खेलकुदको कार्यविधि तयार पारी प्रतियोगिता गर्न लागिएको बताए । नयाँ खेलाडीको खोजी, र खेलकुदप्रति राज्यको प्रतिवद्धता अभिवृद्धि गर्ने र प्रदेशलाई खेलकुदको हवको रुपमा लैजान प्रदेश स्तरीय प्रतियोगिता गर्न लागिएको उनको भनाई छ ।