बागमती प्रदेश सरकारले हेटौंडामा १६/१६ मिटर सडक विस्तार गर्ने
मकवानपुर । बागमती प्रदेश सरकारले हेटौंडामा १६/१६ मिटर सडक विस्तार गर्ने तयारी गरिएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सरकारले प्रदेशको राजधानी हेटौंडा बजार क्षेत्रमा सडक विस्तार गर्ने तयारी गरिएको जानकारी गराएका हुन् ।
सम्मेलनमा मुख्यमन्त्री पाण्डेले पूर्वपश्चिम राजमार्गको हेटौंडा बजार क्षेत्रमा पर्ने सडकको दायाँ र बाँया १६/१६ मिटर मात्रै विस्तार गर्ने बताएका हुन् ।
उनले भने, ‘२५/२५ मिटर विस्तार गर्ने भन्दा यहाँका स्थानीयले क्षतिपूर्ति माग्ने, मुआब्जा माग्ने, अदालतमा जाने समस्या भयो । हेटौंडामा सडक विस्तार वर्षौंदेखिको प्रयास रहेछ । १६/१६ मिटर मात्रै विस्तार गर्दा क्षतिपूर्ति पनि दिनुनपर्ने अनि स्थानीय आफैंले सो क्षेत्रभित्र पर्ने आफ्ना घर टहरा हटाइदिने प्रतिवद्धता प्राप्त भएको छ ।’
संघ सरकारले बजार क्षेत्रको सडकलाई राजमार्गको सूचिबाट हटाउनुपर्ने उनले बताए । उनले त्यसका लागि संघ सरकारसँग पहल भइरहेको बताए । चौकीटोल, राप्तीबगर हुँदै चुरियामार्इँ निकाल्ने वाइपास सडक निर्माण गर्ने र बजार क्षेत्रको सडकको दायाँ र बायाँ १६/१६ मिटर चौंडा गर्ने गरी प्रदेश सरकारले तयारी अगाडि बढाएको उनको भनाई छ ।
२०७४ पुसमा बजार क्षेत्रका केही घर भत्काएपछि सडक विस्तार रोकिएको थियो । तत्कालिन क्षेत्रीय प्रशासक बिनोद केसीको अग्रसरतामा २०७३ सालमा हेटौंडा सडकको दायाँ र बायाँ २५/२५ मिटर सडक विस्तारको काम थालिएको थियो ।
स्थानीयको आन्दोलन र सडक सीमाभित्र पर्ने घरधनीले मुआब्जा तथा क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेपछि सर्वोच्च अदालतले तत्काल सडक विस्तार कार्य अगाडि नबढाउन आदेश दिएपछि सडक विस्तार कार्य रोकिएको थियो ।
