निर्वाचन आयोग : अन्तिम मतदाता नामावली चैत्र १० मा प्रकाशन गर्ने
काठमाडौं । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली आगामी चैत्र १० गते प्रकाशन गर्ने भएको छ । आयोगले मतदाता नामावलीलाई अन्तिम रुप दिने प्रक्रिया अघि बढाएसँगै मतदाना नामावली प्रकाशन गर्ने तयारी गरेको हो ।
विभिन्न ठाउँबाट संकलन भएका नामावलीहरु जिल्ला–जिल्लामा पठाइसकिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । नामावलीमा विवरण छुट्ने, बिग्रने, दोहोरिने, मृत्यु भएका मानिसहरूका नाम हटाउनेलगायतका काम स्थानीय तहले गर्ने उनको भनाई छ ।
यस्तै, मतदाता नामावली दर्ता गर्दा जिल्ला फरक भएमा नाम, थर, उमेर लगायतका त्रुटि भएमा सच्याउने काम स्थानीय तहले गर्ने सहायक प्रवक्ता आर्यालले बताए । वडाबाट यसरी विवरण शुद्धीकरण भएपछि जिल्ला निर्वाचन कार्यालयमा नामावली पुग्ने र त्यस लगत्तै जिल्ला निर्वाचन कार्यालयले गल्ती सच्याएर निर्वाचन आयोगमा अन्तिम विवरण पठाउँछ । सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
